दफा ११
परिषद्को काम, कर्तव्य र अधिकार
परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) लेखा व्यवसायमा प्रवेश गर्नेहरुको लागि परीक्षा सञ्चालन गर्ने ।
(ख) संस्थाको सदस्यता तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यमा नाम दर्ता गर्ने सम्बन्धी कार्यविधि निर्धारण गर्ने ।
(ग) निर्धारित योग्यता पुगेको व्यक्तिलाई दफा १६ बमोजिम उपयुक्त किसिमको सदस्यता प्रदान गर्ने ।
(घ) उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी लेखा व्यवसायको समन्वयात्मक विकास गर्ने ।
(ङ) लेखा व्यवसायको विकासको लागि दक्ष जनशक्तिको लागि चाहिने योग्यता निर्धारण गर्ने ।
(च) सदस्यता प्राप्त गर्न आवश्यक पर्ने योग्यता हासिल गर्नको लागि आवश्यक पाठ्यक्रम र व्यवहारिक तालीमको किसिम निर्धारण गर्ने ।
(छ) विश्वविद्यालय वा अन्य शैक्षिक संस्थाको सहयोगमा वा संस्था स्वयंले विभिन्न शिक्षण तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ज) लेखा व्यवसाय गर्नको निमित्त सदस्यहरुलाई पेशागत प्रमाणपत्र दिने ।
(झ) सदस्यहरुलाई वृति विकासका अवसरहरु प्रदान गरी निजहरुको दक्षतामा अभिवृद्धि गराउने ।
(ञ) सदस्यको तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यको लागि तोकिएको व्यावसायिक आचारसंहिता अनुरुप सदस्य वा पेशागत प्रमाणपत्र प्राप्त सदस्यले काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने ।
(ट) सदस्य तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यले व्यावसायिक आचार संहिताको विपरीत गरेको काम कारबाही उपर अनुशासन समितिको सिफारिस बमोजिम आवश्यक कारबाही गर्ने ।
(ठ) लेखा र लेखापरीक्षणका विविध पक्षमा सैद्धान्तिक वा व्यावहारिक निर्देशन र मार्गदर्शनहरु दिने तथा व्यावसायिक विकासको लागि आवश्यक अन्य काम गर्ने ।
(ड) लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डद्वारा व्यवस्थित वा सिफारिस गरिएका लेखामान तथा लेखापरीक्षणमान पालना गर्ने, गराउने र सोको पालना भए नभएको नियमन गर्ने ।
(ढ) सदस्यहरुको हकहितको सुरक्षा एवं प्रतिष्ठाको संरक्षण तथा सम्बद्र्धन गर्ने ।
(ण) उद्योग, वाणिज्य, अर्थ, राजश्व तथा लेखा व्यवसायसंग सम्बन्धित विषयका विभिन्न प्रचलित कानूनहरुको सुधारको निमित्त नेपाल सरकारलाई राय सुझाव दिने ।
(त) अन्तर्राष्ट्रिय लेखा व्यवसायी महासंघ तथा क्षेत्रीय र उपक्षेत्रीय महासंघहरुको सदस्यता ग्रहण गर्ने तथा अन्य मुलुकका लेखा व्यवसायी संस्थाहरुसंग सम्पर्क स्थापना गर्ने ।
(थ) विश्वविद्यालय तथा अन्य शिक्षण संस्थासंग समन्वय राखी लेखा शिक्षाको लागि उपयुक्त शैक्षिक मापदण्ड सिफरिस गर्ने ।
(द) दर्तावाला लेखापरीक्षकहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आवश्यक तालीम, गोष्ठी र सेमिनार सञ्चालन गर्ने ।
(ध) सेवारत लेखा जनशक्तिको भलाईका लागि अल्पकालीन वा दीर्घकालीन तालीम, गोष्ठी आदि सञ्चालन गर्ने ।
(न) लेखा व्यवसायसंग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने ।
(प) लेखा व्यवसायसंग सम्बन्धित पुस्तकालय सञ्चालन गर्ने ।
(फ) परिषद्बाट गठन हुने समितिहरुले अपनाउनु पर्ने कार्यविधि निर्धारण गर्ने ।
(ब) संस्थाको बजेट स्वीकृत गर्ने तथा कोषको प्रबन्ध गर्ने ।
(भ) संस्थाको लागि आवश्यक पर्ने कर्मचारीहरु नियुक्त गर्ने र निजहरुको पारिश्रमिक तथा अन्य सुविधा तोक्ने ।
(भ१) सदस्यको लागि अनवरत व्यावसायिक शिक्षाको व्यवस्था गर्ने ।
(भ२) लेखा प्राविधिज्ञ तयार गर्न शिक्षा प्रणालीको विकास र तत्सम्बन्धी आवश्यक कार्य गर्ने ।
(म) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियम बमोजिम तोकिएका अन्य कार्यहरु गर्ने ।
(य) यस ऐनको उद्देश्य पूरा गर्न आवश्यक पर्ने अन्य कामहरु गर्ने ।